नेकपा दाहाल-नेपाल समूह आधिकारिकताका लागि ज्ञापन पत्र सहित आयोगमा पुगे

पुष १०, २०७७ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिता र चुनाव चिह्न आफ्नाे भएकाे दावी गर्दै ज्ञापनपत्र बुझाएको छ । पार्टी अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाललगायत नेता आयोग पुगी प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई आज ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा अध्यक्ष दाहालले नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमध्ये दुई तिहाइ अर्थात् २९५ जनाको दस्तखत आफ्ना पक्षमा रहेको जिकिर गर्दै दलको आधिकारिता र चुनाव चिह्न(सूर्य) आफूले पाउनुपर्ने माग गरेका छन । यसै क्रममा उनले भने, “संविधानको मर्म, ऐन र नियमको यहाँहरुलाई राम्रो ज्ञान छ, हामीलाई भरोसा र विश्वास छ, आयोग हाम्रो संवैधानिक व्यवस्थाअनुसार नै आधिकारिकता, चुनाव चिह्न र नामावलीबारे निर्णयमा पुग्नेछ ।”

आयोगले सबै केन्द्रीय सदस्यलाई बोलायो भने उपस्थित हुन तयार रहेको विश्वास दिलाउँदै अध्यक्ष दाहालले आधिकारिताका लागि त्यसभन्दा ठूलो अरु प्रमाण केही हुन नसक्ने जिकिर गरेका छन । “हामी सबै हस्ताक्षरकर्तालाई बोलाएर दस्तखत रुजु गरियोस् । यस विषयलाई हाम्रो परम्परा, कानून, नियमअनुसार छिटो टुङग्याइयोस् ।Æ उनकाे भनाइ छ ।

अर्का अध्यक्ष नेपालले पार्टीको आधिकारिकता र चुनाव चिह्नबारे कानून र विवेकसम्मत ढङ्गबाट निर्णयमा पुग्न आयोगलाई सुझाव दिएका छन । “लोकतान्त्रिक मूल्यमान्यता, संविधान र कानूनका आधारमा उठेका प्रश्न छिनोफानो हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ ।” उनले भने ।

सो अवसरमा प्रमुख आयुक्त थपलियाले संविधान र निर्वाचनसम्वन्धी कानूनमा व्यवस्था भएअनुरुप विवाद निरुपणको प्रक्रिया प्रारम्भ हुने जानकारी दिएका छन । यसै क्रममा उनले भने, “विधान, स्थापित नजीर र प्रचलित कानूनका आधार आधारमा ऐनले दिएको अधिकार क्षेत्रभित्र रही अत्यन्तै न्याय हुने ढङ्गबाट आयोगले न्याय निरुपण गर्नेछ ।”

समूहका वरिष्ठ नेता झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, योगेशकुमार भट्टराई, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, अष्टलक्ष्मी शाक्यलगायत नेता आयोग पुगेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.