सिट क्षमता भन्दा आधा यात्रु राखी जिल्लाभित्र सार्वजनिक यातायात चलाउन दिने सरकारको निर्णय

असार २६, २०७७ – सिट क्षमताको बढीमा आधा यात्रु राखेर जिल्ला भित्र छोटो दुरीका सार्वजनिक यातायातका चलाउन दिने मन्त्रिपरिषद्को पछिल्लो बैठकले निर्णय गरेको सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जनाएका छन ।

सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने भएकाले सार्वजनिक यातायातको भाडा भने ५० प्रतिशत बढाउने सरकारको निर्णय छ । सवारी सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको मन्त्री डा. खतिवडाले बताएका छन ।

सरकारको निर्णय अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला भित्र र उपत्यका बाहिर सम्बन्धित जिल्ला भित्र सार्वजनिक यातायातका साधन चलाउन पाइनेछ । सवारी संचालन गर्दा भने चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा अनिवार्य लगाउनुपर्ने बताइएको छ । ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने हुन्छ ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जनामात्र राख्नुपर्नेछ । एक दिनमा एक पटक यातायातको साधन निसंक्रमण पनि गर्नुपर्नेछ । सरकारको यो निर्णयअनुसार लामो दुरीका सार्वजनिक यातायातका साधन अझै सञ्चालन गर्न पाइनेछैन ।

ट्याक्सीको हकमा चालक बाहेक दुई जनासम्म यात्रु राखेर चलाउन पाइने छ । एउटै परिवारको सदस्य भए ५ वर्षमुनिका बालबालिकालाई पनि राख्न छुट दिइनेछ । यसरी चल्ने ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्ला भित्र मात्र चलाउनुपर्नेछ । निजी सवारीको हकमा जोरविजोर कायमै छ र, चालक बाहेक दुई जनासम्म यात्रा गर्न सक्नेछन् । तर, ट्याक्सीले भने बढी भाडा लिन पाउने छैन ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.