बिहिबारबाट तेश्रो चरणको राहत वितरण सुरू गरिने

धरान (२०७७-०१-३१) – धरान उपमहानगरपालिकाले दुई चरण गरेर २९ हजार ६ सय ४७ परिवार र व्यक्तिहरूलाई गरी २ करोड ६ लाख ७९ हजार १ सय ५५ रुपैँया बराबरको राहत वितरण गरिसकेको छ । आज बुधबार उपमहानगरपालिकामा भएको पत्रकार सम्मेलनमा धरानका मेयर तिलक राईले उक्त तथ्याङ्क बताएका छन ।

मेयर राईले भोली बिहिबारदेखि धरानमा तेस्रो चरणको राहत वितरण शुरु गर्ने समेत जानकारी गराए । वडा कार्यालयहरुको सुझाव र आर्थिक अवस्थालाई ख्याल गर्दै तेस्रो चरणमा चामल र मुसुरी दाल मात्र वितरण गरिने पनि उनले बताए । तेस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड १३ लाख ३४ हजार रुपैँया बराबरको राहत विरतण गरिने भएको छ । तेस्रो चरणको राहतको लागि ९६ लाख बराबरको चामल (सोना मन्सुली) २ लाख किलो र १७ लाख ३४ हजार बराबरको मुसुरी दाल १७ हजार किलो खरीद गरिएको मेयर राईले जानकारी दिए ।

राहतमा पहिलो चरणमा ९ हजार ३६ परिवारलाई ८२ लाख ७ हजार ८ सय ५५ रुपैँया बराबरको राहत प्याकेज विरतण गरिएको छ । यस्तै, दोस्रो चरणमा २० हजार ६ सय १२ परिवारलाई १ करोड २४ लाख ७१ हजार ३ सय रूपैँया बराबरको राहत विरतण गरिएको मेयर राईले बताए । त्यसमा दोस्रो चरणको राहतको भुक्तानी गर्न बाँकी ६४ लाख १६ हजार ३ सय ८१ रुपैँया रहेको उनले खुलाए ।

धरानले पहिलो चरणमा ९३ हजार २ सय ४० किलो चामल, ६ हजार २ रय २५ किलो दाल, ९ हजार ३६ किलो नुन, ९ हजार ३६ लिटर तेल, ३५ हजार ७ सय ४४ किलो आलु, ६३.६६ कार्टुन साबुन र २८ सय ११ किलो न्युट्रेला वितरण गरेको छ । यता दोस्रो चरणमा २ लाख ६ हजार १ सय २० किलो चामल, ५ हजार ४ सय ६५ किलो दाल, २० हजार २९ किलो नुन, २० हजार २९ लिटर तेल र ७ हजार ५ सय ७४ किलो न्युट्रेला वितरण गरिएको छ । वडाका विपन्न परिवारलाई बाहेक आश्रम र सडक मानवको लागि ८ सय किलो चामल, ९३ किलो दाल, ६० किलो नुन, ८९ लिटर तेल, २ सय ७० किलो आलु, ६५ किलो न्युट्रेला र २० किलो प्याज पनि वितरण गरिएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।

राहत कोषमा १ करोड ४२ लाख बढी रकम जम्मा

उपमहानगरले राहत वितरणको लागि स्थापना गरेको कोरोना राहत कोषमा धरानका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, व्यक्तिहरुबाट हालसम्म १ करोड ४२ लाख ६२ हजार ७ सय ७४ रुपैँया जम्मा भएको मेयर राईले बताएको छ ।

कोषमा उपमहानगरपालिकाले ७५ लाख रुपैँया रकमान्तर गरेर जम्मा गरेको छ भने जनप्रतिनिधिहरुले ७ लाख ५७ हजार रुपैँया जम्मा गरेका थिए । यस्तै, कर्मचारीहरुले १० लाख १२ हजार ४ सय २२ रुपैँया, प्रदेश सरकारबाट १५ लाख रुपैँया र विभिन्न दाताहरुबाट ३४ लाख ९३ हजार ३ सय ५२ रुपैँया संकलन भएको बताइएको छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *