मोरङको सुन्दरहरैँचामा निर्माण हुने प्रदेशिक सरुवा रोग अस्पतालको शिलान्यास

माघ २०, २०७७ – मोरङको सुन्दर हरैँचा नगरपालिका ११ मा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा निर्माण हुने ५० बेडको प्रदेशिक सरुवा रोग अस्पतालको सोमबार शिलान्यास भएको छ ।

अस्पतालको शिलान्यास सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री भानुभक्त ढकालले गरेका छन् । प्रतिष्ठानले ४४ औं सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैँचा स्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसै अनुसार प्रतिष्ठानको कुल १४ विघा जग्गा मध्ये २ बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्री ढकालले सरकारले केन्द्रमा ३ सय बेडको तथा ७ वटै प्रदेशमा ५० बेडको सरूवा रोग नियन्त्रणका लागी अस्पताल बनाउने निती कार्यक्रम ल्याएको बताए । ‘कोरोना महामारीको विरूद्ध लड्नका लागी टेकु अस्पतालले मात्र नपुगेकोले अघिल्लो पटकको सरकारको निती कार्यक्रममा केन्द्रमा ३ सय बेडको तथा ७ वटै प्रदेशमा ५० बेडको ल्याब सहितको सरूवा रोग नियन्त्रणका लागी अस्पताल बनाउने कार्यक्रम ल्यायौ ।’ उनले भने, ‘यस अस्पतालको निर्माणको लागी यस वर्ष केन्द्रिय सरकारले ८ करोड बजेट छुट्याएका छौ । केन्द्रिय सरकारले कुल २५ करोड रकम छुट्याएका छौ र त्यो निशन्देह आउँछ ।’

अन्य प्रदेशहरूमा भन्दा यस क्षेत्रमा अस्पताल सुरू गर्न सहज भएको मन्त्री ढकालले बताए । ‘यहाँ जनशक्ति उत्पादन गर्ने विपी प्रतिष्ठान छ, चलाउनका लागी हामीसंग दक्ष जनशक्ती पनि छ, भवन बनेपछी संचालनका लागी कुनै पनि समस्या नरहने मैले अनुमान गरेको छु । विपी प्रतिष्ठानलाई नै प्राविधिक तथा अन्य कुराको नेतृत्व गर्ने गरी संयोजन गरेका छौ ।’ उनले भने, ‘नेपालको इतिहासमा एकैदिन ३ सय ९ वटा अस्पतालहरूको शिलान्यास गरीयो । कोभिडको लडाँइको लागी अस्पताल नभएको स्थानहरूमा ५ बेडको भएपनि ६ सय ३९ ठाँउमा अस्पतालहरू निर्माण गर्यौ, ६ हजार २ सय ३ अस्पतालको बेडहरू थप्यौ ।’

कार्यक्रममा बोल्दै विपी प्रतिष्ठानको उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले यस शिलान्यास एतिहासिक कार्य रहेको बताएका थिए । ‘२७ वर्षको इतिहासमा खण्डहर रूपमा रहेको प्रतिष्ठानको जग्गामा व्यवस्थित रूपमा आधुनिक सुविधासम्पन्न सरूवा रोग अस्पताल निर्माण हुने भएको छ । यो एतिहासिक कार्य हो ।’ उनले भने, ‘यस सुन्दरहरैँचालाई अझ सुन्दर बनाउने अभियान हो । अस्पताल निर्माणको लागी मेरो सबै टिम लागी परेको छ र कार्यहरू अगाडी बढिरहेका छन ।’ प्रतिष्ठानमा सबै दक्ष जनशक्ति रहेको र अनुकुल वातावरण भएमा एक वर्ष भित्र अस्पताल निर्माण गर्ने उपकुलपति गिरीले दाबी समेत गरेका थिए ।

अस्पतालले सरुवा रोग सम्बन्धी बिशिष्टकृत उपचार सेवा उपलब्ध गराउने वीपी प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । सोमबार नै प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार डा. रेग्मीले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

शिलान्यास कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला, कानुन तथा सामाजिक विकास मन्त्री हिक्मत कार्की, प्रदेश सभा सदस्य राजकुमार ओझा, रूपप्रसाद संग्रौला, सुन्दरहरैँचा नगरपालिकाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ, राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझी लगायतले बोलेका थिए ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.