व्यवस्थापन चुस्त नभएर बत्ती जान थाल्यो – कुलमान
पुष १५, २०७७ – पछिल्लो समय काठमाडौं उपत्यका लगायतकाे विभिन्न ठाउँमा झ्याप्पझ्याप्प बत्ती जान थालेको छ। अधिकांशकाे भनाइ अनुसार ऊर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझीले लिएपछि बत्ती गएकाे टिप्पणी गर्न थालेका छन्। विगतमा १८ घण्टासम्म लोडसेडिङ हुँदा उनै रायमाझी ऊर्जामन्त्री थिए। त्यति बेला उनीमाथि लोडसेडिङ हटाउन नसकेको आरोप थियो।
यस्तै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ अवकाश भएपछि बत्ती जाने क्रम बढेको कतिपयको बुझाइ छ। पूर्वकार्यकारी निर्देशक घिसिङ अहिले बत्ती जानुपर्ने कुनै कारण नरहेको बताउँछन्। निर्देशक घिसिङकाे भनाइ अनुसार बत्ती गइरहनुमा चुस्त व्यवस्थापनको अभाव रहेको हाे । उनका अनुसार काठमाडौं उपत्यकामा बिजुलीको माग गत वर्षभन्दा यस वर्ष ७० मेगावाट कम छ।
यसै क्रममा घिसिङले भने, ‘माग कम भएपछि अरु समस्या नहुनुपर्ने हो। तैपनि झ्याप्पझ्याप्प बत्ती जानुको कारण राम्ररी व्यवस्थापन गर्न नसक्नु हो।’ उनले बत्ती गइरहनुमा अन्य कारण नै नरहेको बताए। बत्ती गइरहँदा उपभोक्ताले इन्भर्टर लगायतका वस्तुमा चार्ज स्टोर गर्न थाल्ने र त्यसले एक्कासि लोड बढाएर झन् समस्या निम्त्याउने उनको भनाइ छ। ‘यो सबै व्यवस्थापनमा भर पर्ने कुरा हुन्’, घिसिङ भन्छन्।
प्राधिकरणका अधिकारी भने प्रसारण लाइनमा केही समस्या देखिएपछि मर्मतका क्रममा थोरै समय बत्ती जाने गरेको दाबी गर्छन्।