नेपाल स्टारका उपविजेता लामाद्वारा सबैमा धन्यवाद ज्ञापन, धरानमा प्रेम दिवसको दिन कन्सर्ट हुने
माघ २८, २०७७ – पहिलो नेपाल स्टारका उपविजेता बन्न सफल धरानका युवा गायक सन्देश बम्जन लामाले आज धरानमा पत्रकार सम्मेलन गरि सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा बोल्दै गायक लामाले भने,‘देश तथा विदेशमा रहेर सहयोग गरी मलाई नेपाल स्टारको उपविजेता बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्ण महानुभावहरुलाई आभार तथा धन्यवाद व्यक्त गर्दछु ।’ उनले आफुमा जिम्मेवारी थप भएको बताउँदै सम्पुर्ण शुभचिन्तकहरुको आशा नमार्ने बाचा गरेका छन् । गित गाउन बाल्यकालदेखि रुचि राख्ने र गाउने गरेको भएपनि परिवारको आर्थिक अवस्था कमजोर भएको कारण औपचारिक रुपमा संगीत सिक्न भने नपाएको गायतक लामाले बताएका छन् ।

धरानस्थित बराह किचनमा भएको कार्यक्रममा गायक लामालाई शुभकामना दिदै गायक शिव लामिछानेले साङ्गीतिक यात्रालाई निरन्तरता दिदै व्यावसायीकरण गर्न सुझाब दिएका छन् । उनले मनोरञ्जनको साथमा आर्थिक पाटो पनि सबल बनाउँदै जानुपर्ने बताएका छन् । पत्रकार सम्मेलनको समापन गर्दै गायक लामाका बुवा पशुपति तामाङले मेरो छोरा सन्देश बम्जन लामाको जित हुनु धरानको जित हुनु हो भनेका छन् ।
धरानमा यहि प्रेम दिवसको दिन गायक सन्देश बम्जन लामाको कन्सर्ट हुने उक्त कार्यक्रम सञ्चालक समेत रहेका पत्रकार विकास चाम्लिङ राईले जानकारी दिएका छन् । उक्त कन्सर्ट कुन ठाउँमा हुनेछ भन्ने बारेमा छिटै जानकारी दिने समेत बताइएको छ ।
गत वर्षको माघ १७ गते सुरु भएको नेपाल स्टारको यहि माघ १७ गते फाइनल भएको थियो । नेपाल स्टारको उपाधि पोखराकी एलीना गुरुङले हात पारेकी हुन् । सन्देश बम्जन लामा, लक्ष्मण लिम्बु र सुरेश लामा भने उपविजेता बनेका हुन् ।