ध्यान सूत्रको सारः एक ओशो संन्यासीको अन्तर्कथा अनुसार-स्वामी हिमाल

म दश एघार वर्षको हुँदा एकदिन मेरी आमाले परिवारको माझमा भन्नु भयो, “इन्डियामा भगुवान निस्कियो रे । अहिले विराठनगरमा आको छ रे ।”आमाको कुरा अझैँ सुन्नलाई मेरा कानहरू  उत्सुक भएका थिए। मलाई अझैँ अनुभूति छ, त्यो कुराले मेरा शरीरका रौँहरू ठाड्ठाडा भएका थिए । मन पनि पुलकित भएको थियो । मेरी आमाले त्यसबेला कुन भगवानको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो मैले बुझ्न सकिँन । म सोच्न थाले के साँच्चै मान्छे भगवान बन्न सक्छ ? कसरी मान्छे बन्न सक्छ भगवान? मैले आफैँलाई अनुत्तरित प्रश्नहरू गरेँ। आमाले पनि जवाफ दिन सक्नु हुन्न होला भन्ठानेर मैले सोधिँन । विराटनगरमा आएका ती मानवरुपी भगवानलाई देख्ने ईच्छा जागेर आएको थियो । तर त्यसबेला मबाट सम्भव थिएन किनभने म विराटनगरको नभइ उर्लावारीको एउटा फुचे केटो थिएँ। त्यसैले विराटनगरमा आउनु भएको भगवानको बारेमा त्यो बेला अबुझ नै रहनु पर्यो मैले। त्यतिकै हरायो भगवान सम्बन्धी विचारको झिल्को मनको कुनै कन्दरामा त्यसबेलाका लागि ।

एस. एल. सि. उत्तीर्ण गरेपछि आइ. ए. पढ्नका लागि म दमक क्याम्पस जान थाँले । एकदिन दमकको एउटा पुस्तक पसलमा मैले “ओशो टाइम्स” पत्रिका देँखे । त्यो पत्रिकाले मलाई अनायास नै आकृष्ट गर्यो । त्यो पुस्तक पसलका मालिक मेरै दामलका किशोर भएकाले मलाई सजिलो भयो पत्रिका मागेर पढ्न । पत्रिका पाए पछि त्यहीँ पसल अगाडि बेन्चमा बसेर पढ्न थालेँ । “ओशो टाइम्स” पत्रिकाको त्यो कुन अङ्क थियो मलाई अहिले सम्झना छैन । मैले त्यसबेला बुँझेको कुरा ओशोले सम्भोगलाई समाधिको साधन बनाउन सकिन्छ भन्नु भएको रहेछ । र त्यस कुराले अध्यात्मिक जगतमा एक प्रकारको तरङ्ग ल्याएको रहेछ। यसको साथै विभिन्न ध्यान शिविरहरूमा ओशोले दिएका प्रवचनहरूका बारेमा लेखिएका लेखहरू थिए त्यस पत्रिकामा । त्यसबेलाको मेरो बुझाइ परिपक्व थिएन । म किशोरावस्थाको भएकाले सम्भोग, धर्म र ध्यानको सम्बन्ध कसरी होला भन्ने कुराले त्यो पत्रिकाप्रति आकर्षित थिएँ सायद। ओशो नै मेरा गूरू हुन् भन्ने कुरा त्यसबेला गौण थियो । अर्कातिर ओशोका देशना सरल भए तापनि त्यसबेला मैले ओशोका योग, ध्यानविधि र साहित्यदर्शनका बारेमा केही बुझ्न सँकिन । अध्यात्ममा सानैंदेखि मेरो रुचि थियो तर मलाई लाग्छ मेरो अध्यात्मिक चेतनाले फस्टाउने वातावरण पाएको थिएन। साथीभाइहरू पनि ओशोका बारेमा केही सुनेका जानेका थिएनन् । कसैबाट मैले ओशो र ओशो मार्गदर्शन बुझ्ने सिक्ने अवसर पाँइन । त्यसपछि मैले लगभग पन्ध्र वर्ष पर्खिनु पर्यो ओशो गूरूको बारेमा बुझ्ने मौका पाउन ।

२०६७ सालतिर म इटहरीमा बसोबास गर्थेँ। साउन महिनामा म मर्निङ वाक गर्दै हलगडा पुगेको थिएँ। हलगडामा बाटोको पूर्वपट्टि एक घरमा ‘ओशो विश्रान्ति ध्यान केन्द्र’ लेखिएको बोर्ड टाँगिएको थियो । त्यो देखेर मलाई त्यहाँ जाउँ जाउँ लागेर आयो । म ध्यान केन्द्र भित्र पसेर हेर्दा दुई जना महिलाहरू नृत्य गर्दै गरेको देँखे । अगाडि कुर्सीमा ओशोको ठुलो फोटो राखिएको थियो । त्यसैको नजिक टेबलमा केही पुस्तकहरू मिलाएर राखिएका थिए । म केहीबेर चुपचाप उभिएर हेरें । एकैछिन पछि एकजना दिदीले नृत्य गर्न छोडेर हलमा मिलाएर राखेको कुसनमा मलाई बस्न भन्नुभयो । मैले ती दिदीलाई ओशोको साहित्यदर्शन एवम् ध्यान साधनाका बारेमा प्रश्नहरू गरेँ । ओशो संन्यासीहरूमा महिला साधिकालाई मा (जी) र पुरूष साधकलाई स्वामी (जी) भन्ने नियम रहेको छ र ती दिदीको नाम निरू भएकाले मैले निरूमा भन्न थालेँ । निरूमाले ओशोको परिचय दिदै ओशो ध्यानविधिका बारेमा मलाई जानकारी पनि दिनुभयो । त्यहाँ राखिएका ओशो साहित्य दर्शनका पुस्तकहरू देखाउदै पढ्नका लागि प्रेरणा दिनुभयो । मैले ओशो अध्यात्मिक साहित्यको पहिलो पुस्तक छाँने, ‘ध्यान सुत्र’ । ध्यानको बारेमा मेरो जिज्ञासा बढी देख्नु भएर होला  निरूमाले त्यो डिसकोर्सको किताब मलाई सिफारिस गर्नुभएको थियो। त्यो पुस्तक लिएर म वाकिङ् गर्दै नै डेरातिर फर्किएँ। निरूमाले त्यसबेला नै ओशोद्धारा प्रतिपादित ‘डाइनामिक र कुण्डलिनी’ ध्यानको बारेमा मलाई बताउनु भएको थियो । तर ती ध्यानहरू गर्ने विधि र त्यसको स्वाद लिनलाई मलाई अरू एक वर्ष पर्खनु पर्यो।

डेरामा पुगेपछि मैँले ‘ध्यान सूत्र’ पुस्तक पढ्न सुरू गरेँ । जतिजति पानाहरू पढ्दै गएँ, यस्तो लाग्यो यो पुस्तकले मेरो सङ्कीर्ण मनलाई अनन्त आकाश जस्तै फराकिलो बनाउला कि ! ओशोले १९७० मा दक्षिण भारतको महाबलेश्वरमा सञ्चालित ध्यान शिविरको बेला दिनुभएको प्रवचन र ध्यान प्रयोगहरूको सङ्कलन हो यो पुस्तक ‘ध्यान सुत्र’ । ध्यानको तयारीका लागि शरीर, विचार र भावको शुद्धि कसरी हुन्छ, मानिसको गाँठा परेका ग्रन्थिहरू (कुण्ठा) को शुद्धिकरण प्रक्रिया र तन-मनको सन्तुलनको बारेमा लेखिएका नौवटा आलेखहरूको सङ्कलन हो यो पुस्तक ।

ओशो भन्नुहुन्छ, “शरीर शुद्धिको पहिलो अर्थ हो शरीरको भित्र, सस्थानमा, शरीरको यन्त्रमा कुनै पनि रूकावट वा कम्प्लेक्सिटी छैन भने शरीर शुद्ध हुन्छ । आहार र विहार (दिनचर्या र शारीरिक व्यायाम) स्वस्थ र शुद्ध राखेमा शरीर शुद्ध हुन्छ ।” यसै गरी विचार शुद्धिका बारेमा ओशो भन्नुहुन्छ, “शुद्ध विचार भनेको ‘सत्यम् शिवम् सुन्दरम्’ले भरिएको विचारलाई बुझ्नुपर्छ । यसको अर्थ सत्य, सकारात्मक वा शुभ र सुन्दर विचारहरू हुन् । यी तीन कुराहरूनै विचार शुद्धिका केन्द्रहरू हुन् । यदि कसैको मनमा कुनैपनि बेला यस्ता सत्य, शुभ र सुन्दर विचार आउदैनन् भने ती विचारहरू नै अशुद्ध विचाररू हुन् र ती अशुद्ध विचारहरू ध्यान साधनाका लागि वाधक बन्दछन् ।” ओशोको अनुसार विचार शुद्धि तीन प्रकारले सम्भव हुन्छ; सद्विचारले, सत्पुरूषको संगतले र सबैभन्दा महत्वपूर्ण आत्मज्ञान र प्रकृतिको सान्निध्यले ।

भाव शुद्धिका बारेमा ओशो भन्नुहुन्छ, “चार किसिमकोले भावना गर्नाले भाव शुद्ध हुन्छ। यी चार भावहरूमध्ये पहिलो भाव हो मैत्रीभाव, दोश्रो भाव करूणा, तेश्रो प्रमुदिता र चौथो कृतज्ञता । वैमनस्यता र घृणाको भाव छोडेर मैत्रीपूर्ण सद्भाव र व्यावहार गरेर भावको परिधि शुद्ध गर्ने मानिस सधैं प्रसन्न रहन्छ । काम, क्रोध र हिंसाको विपरित करूणा, दया र प्रेमको भाव प्रकट हुनु मैत्रीभाव हो। ईर्ष्या, उदासी र चिन्ताको सट्टा प्रतिकुल परिस्थितिमा पनि प्रफुल्ल रहने, सकारात्मक सोचेर प्रसन्न रहने र अरूलाई पनि प्रसन्न रहन अभिप्रेरित गर्ने गुण नै प्रमुदिता हो। अकृतज्ञको विपरित कृतज्ञ वा धन्यभागी हुने अवस्था कृतज्ञता हो । यसले एकअर्काको दुःखसुख बुझेर अहोभाव व्यक्त गर्ने मनोभाव जनाउँदछ । ताओ धर्मका प्रतिपादक लाओज्जुको ‘पूर्ण स्वीकारभाव’ यही  कृतज्ञताको भावले नै शुरू हुन्छ ।”

ओशोको अनुसार शरीर, विचार र भाव यी तीन परिधिहरू शुद्ध भएपछि यी तीन तत्वहरूको शुन्यता अभ्यास गर्नुपर्छ । जब यी तीन कुराहरू  शुद्ध र शुन्य अवस्थामा पुग्छन् तब समाधि घटित हुने तयारी हुन थाल्छ । यसका लागि ओशोले विभिन्न प्रकारका सक्रिय र निस्क्रिय ध्यानका विधिहरू प्रतिपादन गर्नुभएको छ । यी ध्यान विधिहरूको नियमित अभ्यास गर्नाले शरीर, विचार र भाव तीनै आयामको शुद्धि र शुन्यता दुवै प्राप्त हुन्छ ।

यो कुरा अनुभवले नै बुझ्न मैले ‘ध्यान सुत्र’ पुस्तक पढेको एक वर्ष पछि मात्र मौका पाएँ । २०६७ साल चैत्र ६, ७ र ८ मा (१९, २० र २१ मार्च २००९) मा धरानको लाङ्घाली सामुदायिक वनको भवनमा सञ्चालन गरिएको तीन दिने ध्यान शिविरमा मैले सहभागी हुदै दीक्षा लिएँ । त्यस ओशो ध्यान शिविरका सञ्चालक स्वामी गोपाल भारती हुनुहुन्थ्यो । वहाँको दीक्षान्त कार्यक्रमबाट झण्डैँ सय जना नवसंन्यासीहरूका बिचमा मैले ओशोलाई मेरो अध्यात्मिक जगतका गुरू बनाएँ । तीन दिनको योग ध्यान र सत्संगले मैले धेरथोर भएपनि शरीर, विचार र भाव शुद्धि एवम् शुन्यताका बारेमा बुझेँ। मलाई लाग्यो ती तीन दिनहरू मेरा जीवनका सबैभन्दा खुशीयालीका दिनहरू थिए। मैले तीन दिन मात्र भएपनि संसारका सबैभन्दा बढी आनन्दित मान्छेहरूसँग बिताउन पाएको महसुस गरेँ। किनकि त्यो यस्तो ध्यान शिविर थियो जहाँ  उत्सव, नृत्य, हाँसो, खुशी र आनन्द नै मुख्य कुरा थिए । त्यहाँ गाभिर्यता, पीडा र नैराश्यता सबै रेचन गरेर फ्याकिन्थ्यो । मेरो लागि यो अनौठो प्रकारको ध्यान प्रयोग थियो । ओशोको ध्यान गरिने शैलीलाई मैले उत्सव ध्यानको रूपमा बुझेँ ।                             

मेरी आमाले भगवानको नेपाल आगमन बारे सुनाउनु भएको बिस वर्ष पछि मैले ओशो संन्यासीको रुपमा दीक्षा लिएँ। ओशो संन्यासीहरूसँग सम्पर्क बढ्दै जादा र ओशोका पुस्तकहरू पढ्दै गर्दा मेरो जानकारी अनुसार वि. सं. २०४७ सालताका ओशो एकपटक नेपाल आउनुभएको थियो । वहाँ अमेरिका छोडे पछि नेपालमा बस्न चाहनु हुन्थ्यो । त्यसै क्रममा ओशो काठमाण्डौ हुदै विराटनगरमा आउनुभएको थियो र वहाँको बारेमा नेपालमा ‘भगवान’ आउनु भयो भनेर चर्चा फैलिएको थियो । किनभने सुरुका दिनहरूमा ओशोलाई ‘भगवान रजनिश’ भनिन्थ्यो। ओशो जीवित छदै दर्शन गर्न नपाए पनि अहिले म वहाँको शिष्य भएर सेवा गर्दैछु । र गूरूको दिव्य वचन सधैँ सम्झने गर्दछु “संसारको अर्थ होः दुनियाँले जानोस् कि म को हूँ । संन्यासका अर्थ होः मैले जानूँ कि म को हूँ । सबैका लागि मेरो सन्देश दुई शब्दमा छः प्रेम र ध्यान ।”

(लेखक धरानस्थित ‘ओशो महापरिनिरवाण ध्यान आश्रम’ को कार्यसमितिमा सह-सचिवको रूपमा सेवारत् छन् ।)  limbuhimal76@gmail.com

Facebook Comments

कन्फ्युजनेपाल

Hy, I'm Gokul & thank you for viewing my post. Please send me email if you have any suggestions and feedback.