विपश्यना विज्ञानबारे सम्यक तरफदारी-गोपाल किराती

-गोपाल किराती,

आश्विन १८, २०७७ – मे २०१९ मा हामीले खोज आलेख रचना ग¥यौं, जसको शीर्षक थियो, ‘विपश्यना विज्ञान ः मार्क्सवादको चौथो संघटक अंग ।’ अगस्ट २०२० मा प्रकाशित पुस्तकमा, नीजि विचारका रुपमा सो आलेख प्रकाशित ग¥यौँ । त्यसपछि स्वभाविक रुपमा त्यसबारे प्रतिक्रिया सुरु भएका छन् । विचार निर्माणको वाद, विवाद र सम्वाद प्रक्रिया अनुरुप नै हाम्रो खोज आलेख वाद थियो भने त्यसमाथि विवादको प्रारम्भ सुखद कुरा हो । नव–पुजीवादीकरणको चरमोत्कर्ष सँगसँगै मानव जाति विरुद्ध थोपरिएको कोभिड–१९ ले सम्यक विश्वव्यवस्थाको हठात माग गरेको छ । तथ्यहरुको आधारमा विश्लेषण गर्दा उपरोक्त खोज आलेख र प्रयुक्त विचारले माओको महान वहस पछिको विश्व कम्युनिस्ट आन्दोलनमै महत्व उजागर गर्ने अपेक्षा सुदृढ भइरहेको छ ।

१९ औं शताब्दीमा मार्क्स–एङ्गेल्सले अन्तर्राष्ट्रिय मानवको माग गरेका थिए । २० औं शताब्दीमा आउँदा सोभियत वैज्ञानिक युरी गाग्रीनले अन्तरिक्ष यात्रा सफल गरेपछि स्वभाविक रुपमा अन्तरिक्ष मानवको माग बढ्यो । जसले मात्र, पृथ्वीमा मानव जातिवीच समानता, स्वतन्त्रता र बन्धुभाव सुनिश्चित गर्ने भयो । तर, २१ औं शताब्दीमा आउँदा साम्राज्यवादी अमेरिकाले १६ हजार संख्याको अन्तरिक्ष सेना घोषणा प्रचार गरेको छ । अब अन्तरिक्ष मानवले मात्र पृथ्वीको सामाजिक अन्तर्विरोध हल गर्न नसक्ने स्थिति थोपरियो । किनकि, अन्तरिक्षमा समेत साम्राज्यवादी सेना तैनाथ हुने भयो । तब पृथ्वीको गुरुत्वाकर्षण बाहिरको अन्तरिक्ष वर्गसंघर्षको युद्ध मैदानमा बदलिने भयो । हिजोसम्म साम्राज्यवाद तथा दलाल पुजीवाद विरुद्धको वर्गसंघर्षको मैदान पृथ्वी मात्र थियो भने श्रमिकवर्ग र देशभक्तहरुले न्याय र समानताका लागि अब पृथ्वीमा मात्र लडेर विजय हासिल गर्न नसकिने, बरु अन्तरिक्षमा समेत साम्राज्यवादी सेनासँग भिड्नुपर्ने भयो ।

अतः पृथ्वी निवासी मानव समाजको वर्गसंघर्ष, उत्पादन संघर्ष र प्रकृतिसंँगको संघर्षमा ब्रम्हाण्डीय मानवको अपरिहार्यता बढ्यो । अन्तरिक्षको क्षेत्र पृथ्वीको गुरुत्वाकर्षण भन्दा धेरै परसम्म नै हो । परन्तु, ब्रम्हाण्डले समग्रता अभिव्यक्त गर्छ । जसरी गाउँ–नगर सञ्चालन गर्न देशको विधि विधान बोध गरेको हुनुपर्छ, देश सञ्चालन गर्न विश्वको विधि विधान र विश्व सञ्चालन गर्न अन्तरिक्ष, मुख्यतः ब्रम्हाण्डको विधि विधान बोध अपरिहार्य आवश्यक बन्न पुगेको छ । यसरी विश्व क्रान्तिको एक अंग नेपाली क्रान्तिको उठान एवं विजयका निम्ति ब्रम्हाण्डीय चेतना र भूमण्डलीय योजना अनिवार्य बनेको छ ।

जीवन र जगत सम्बन्धी दृष्टिकोण निर्माण तथा खोज विधिको प्रश्नमा मार्क्सको द्वन्द्वात्मक भौतिकवाद, आईन्स्टाईनको सापेक्षतावाद र माआको अन्तर्विरोधबारे वस्तुतः एउटै हुन् र यी सबैको वैज्ञानिक आधार मार्क्सवाद नै हो । अतः प्रकृति, समाज र चिन्तनबारे खोज अनुसन्धान र गुणात्मक परिवर्तनका निमित्त द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादले मात्र सापेक्षतावाद र अन्तर्विरोधबारे ज्ञान सिद्धान्तलाई सहज ज्ञानमा उठाउँछ, प्रविधि र सूचना सञ्चारमा विकसित परिस्थितिको बोध तथा श्रमिकवर्गीय व्यवस्थापन सम्भव बनाउँछ ।

सम्पत्ति र शक्तिमा पुजीवादी नीजिकरणको चरमोत्कर्ष भूमण्डलीकृत समाज बन्न पुगेको छ । रणनीतिक दृष्टिमा, जसरी छरिएको जमिन केन्द्रीकरण कार्य सामन्तवादको प्रगतिशील कदम थियो, छरिएको उद्योगधन्दा केन्द्रीकरण कायै पुजीवादको प्रगतिशील कदम थियो, त्यसरी नै सामान्यतः मानव जाति र मुख्यतः श्रमिकवर्गका निमित्त उत्तरपुजीवादी भूमण्डलीकरण प्रगतिशील ठहरियो, भन्नुपर्छ । अन्तर्विरोध के मात्र हो भने क्रान्ति गर्ने र प्रतिक्रन्ति रोक्ने विचार र विधिको अपेक्षित विकास गर्न नसक्नुको परिणाम सर्वहारा श्रमिकवर्गको भौतिक सत्ता ढल्नु, जसरी क्रान्ति लगत्तै प्रतिक्रान्ति देखियो, त्यसरी नै प्रतिक्रान्ति लगत्तै क्रान्तिलाई अवश्यमभावी तुल्याउने वैचारिक एवं आत्मगत स्थिति सुदृढ गर्न नसक्नु जस्ता कारणहरुले श्रमिकवर्ग र मार्क्सवादी मुलुकहरुले समाजवादी भूमण्डलीकरणको आवश्यकता तत्काल पूर्ति गर्न सकिएन । परन्तु, व्यवहारिक अनुभवबाट श्रमिकवर्ग र देशभक्तहरु प्रशिक्षित बन्न पुगेका छन् र अन्यायपूर्ण पुजीवादी भूमण्डलीकरणलाई उल्ट्याएर अब न्यायपूर्ण समाजवादी भूमण्डलीकरणमा बदल्ने सामर्थ्य प्रदर्शन गर्दैछन् ।

उपरोक्त वर्गदृष्टिकोण र विधिका आधारमा ब्रम्हाण्डीय चेतनाको मानव निर्माण गर्न सकिन्छ । जसका निमित्त विपश्यना विज्ञान सहायकशिद्ध छ र यस सम्बन्धी खोजको विवादलाई विश्वस्तरीय सम्वादमा उठाउँदै मार्क्सवादको चौथौ संघटक अंगमा संश्लेषण गर्न सकिन्छ ।

प्रस्तुत पृष्ठभूमिमा बौद्ध दर्शनको मन व्यवस्थापन विज्ञानबारे केही उदाहरण सहित निम्न तरफदारी गरिन्छ ः

१. मनको द्वन्दवाद

के मानिसको मन पदार्थ हो ? लेनिन अनुसार अवश्य पदार्थ हो ।

उदाहरण १

मानिसको शरीरमा रगत सहित अनेक तरल पदार्थ निहित छन । त्यसमध्ये नाक, मुख र घाटीको बीचमा अवस्थित ¥याल, सिंगान, थुक र खकार पनि हो । ¥याल र थुक नभए जीवन समाप्त हुन पुग्छ, तर सिंगान र खकार चाहिँ अतिरिक्त विकार हुने गर्छ । जब रुघा–खोकि र ज्वरो बढ्छ, मानिसको शरीरमा सिंगान र खकार वृद्धि हुन्छ । रुघा पाक्दै वा छिपिँदै गएपछि सिंगान र खकार पहेँलो पिप जस्तो, कतिपयमा रगत निस्केको पदार्थको भारीमा बदलिन्छ । यद्यपि, मुखभित्रको पदार्थ हुनाले नचाहेर पनि कति त्यस्तो (रगत निस्किएकोे, पिपको डल्ला) सिंगान र खकार सहजै निल्ने गरिन्छ । अनिच्छित हुँदाहुँदै त्यसरी निलिने सिंगान र खकारमा विशिष्ट स्वाद अनुभव गरिन्छ । तर, जब ¥याल, सिंगान, थुक र खकार मुख बाहिर फालिन्छ, त्यसप्रति मानिसको उग्र घृणा सुरु हुन्छ । बाहिर फालिएको खकार मुखमा प¥यो भने ज्यान जाने ठानिन्छ । परन्तु, मुखभित्र हुँदा तातो र बाहिरिएपछि चिसो हुनु बाहेक त्यस खकारमा कुनै पदार्थगत परिवर्तन भएको हुँदैन । त्यो वस्तुतः निल्ने गरिएको खकार नै हो ।

कारण के हो, जसले गर्दा मुखभित्रको खकार निल्दा स्वाद अनुभव हुने, मुख बाहिर गएको खकारप्रति उग्र घृणा बढ्ने ?

उदाहरण २

त्यस्तै, मानिसको शरीरको दिसा अर्थात गुहुबारे चर्चा गरौं ।

पेटमा गुहु नभए मानिसको प्राण रहँदैन । तर, मलद्वारबाट बाहिरिएपछि गुहुप्रति खकार समान मानिसको घृणा सुरु हुन्छ । जबकि दिसा गरिएको गुहु खायो भने मानिस मर्दैन । किनकि कुकुर, सुंगुर र कुखुराले मानिसको गुहु खाएर त्यो मर्दैन । मानिसले मानिसको गुहु खाँदा पौष्टिक चाहिँ नहुन सक्छ । किनकि, शरीरले चबाएर फालेको खोष्टा हो त्यो । तर, भोको पेटमा खायो भने निश्चय नै केही समय पेट भरिने छ । अतः मानिसको गुहु खाएर कोही मानिस मर्दैन । परन्तु कारण के हो, जसले गर्दा मानिसले मानिसको गुहुप्रति उग्र घृणा गर्छ ?

लौ भन्नुस, उपरोक्त दुई उदाहरणमा उपस्थित कारण के हो ?

वस्तुगत कारण त्यही हो, मानिसको मन । मानिसको मनको द्वन्दवाद अर्थात पदार्थको स्थान र समय परिवर्तनपछि पदार्थप्रतिको मानिसको मनको परिवर्तित दृष्टिकोण अथवा पदार्थको स्थान र समयले परिवर्तन गरेको मानिसको मनको दृष्टिकोण ।

“भौतिकवाद र अनुभवशिद्ध–आलोचना” शीर्षक दर्शन सम्बन्धी आप्mनो पुस्तकमा लेनिनले भनेका छन्, ‘ विचार, चेतना, भावना र समवेदना सबै पदार्थका उच्च विकसित रुपहरु हुन् ।’ अतः द्वन्दात्मक भौतिकवादी दृष्टिकोणमा मानिसको मन एक पदार्थ हो, जुन विचार, चेतना, भावना र समवेदनाको रुपमा व्यक्त हुने गर्छ ।

२. युद्ध र शान्तिको द्वन्दवाद

मार्क्सवादी दर्शन वर्गसापेक्ष छ, त्यसैले वर्ग अन्तर्विरोध रहेसम्म यो सापेक्ष शान्तिको सिद्धान्त हो । बौद्ध दर्शन वर्ग निरपेक्ष छ, त्यसैले यो निरपेक्ष शान्तिको सिद्धान्त हो । वर्गअन्तर्विरोध हल नगरेसम्म बुद्धको निरपेक्ष शान्तिको सिद्धान्त मानव मुक्तिको समग्र सिद्धान्त हुन सक्ैदन । मात्र विपश्यना विज्ञानले वर्गसंघर्षमा क्रान्तिकारीहरुको मन व्यवस्थापन कार्यमा अभिन्न सहायकको भूमिका निर्वाह गर्न सक्छ । अतः विश्वव्यापी सामाजिक अन्तविरोध हल गर्न मार्क्सवादको तीन संघटक अंग प्राथमिकतामा रहन्छ भने मन व्यवस्थापन विज्ञानका रुपमा बौद्ध दर्शनको विपश्यना दोस्रो प्राथमिकता अर्थात मार्क्सवादको चौथो संघटक अंगमा समीकरण जरुरी छ । वर्ग अन्तर्विरोध उन्मूलन भएको साम्यवादी समाज व्यवस्थामा मार्क्सवाद पनि निरपेक्ष शान्तिको सिद्धान्तमा परिणत हुन्छ ।

यहीँनिर विशेष स्मरण जरुरी छ कि निरपेक्ष शान्तिका हिमायती बौद्धमार्गीहरुले पनि साम्यवादी समाजव्यवस्थाका निम्ति अग्रसर हुनुपर्दछ । वर्गीय समाजमा पुजीवाद नै दुःखको कारण हो भने साम्यवाद नै दुःख निवारण हो । वर्ग अन्तर्विरोध उन्मूलन भएको समाजमा मात्र विश्वव्यापी निरपेक्ष शान्तिको झण्डा फर्फराउन र बौद्ध दर्शन समग्रताको जीवन दर्शन बन्न सक्छ । यस्तो महान कार्यका निम्ति बौद्धमार्गीहरुले सुविचारित कदम उठाउनै पर्छ ।

जहाँसम्म वर्गनिरपेक्ष दर्शनको वर्गसंघर्षमा समीकरण कसरी भन्ने प्रश्न छ, भाषा र लिपिको प्रयोजनबाट जवाफ दिन सकिन्छ । ज्ञात रहोस कि भाषा र लिपिको वर्ग हुदैन अर्थात यो वर्ग निरपक्ष सम्पदा हो । परन्तु, वर्गनिरपेक्ष भाषा र लिपिको अभावमा वर्गसंघर्ष सम्भव छ ? वर्गनिरपेक्ष भाषा र लिपिले वर्गसंघर्षमा बाधा उत्पन्न गर्दछ या सहायकसिद्ध बनेको छ ? मानव जातिको इतिहासमा, मार्क्सवादको निर्माण तथा विश्व कम्युनिस्ट आन्दोलनमा वर्गनिरपेक्ष भाषा र लिपि अभिन्न सहायक रहँदै आएको छ र यो क्रम निरन्तर जारी रहने छ । अब मार्क्सवादीहरुले वैचारीक सामथ्र्य आर्जन गर्न सक्दा वर्गनिरपेक्ष बौद्ध दर्शनको विपश्यना विज्ञानबाट एक सार्वभौम उर्जा प्राप्त गर्दछन् ।

तत्वबोध जरुरी छ कि युद्ध दुई प्रकारका हुन्छन् – अन्यायपूर्ण युद्ध र न्यायपूर्ण युद्ध । के स्पार्टाकसको दास विद्रोह बेठिक थियो ? के हिटलरवादलाई ध्वस्त पार्ने स्टालिन कार्बाही बेठिक थियो ? के माओको चीन स्वतन्त्रता युद्ध बेठिक थियो ? के सुभाषचन्द्र बोसले आजाद फौज गठन गरेर अंग्रेजलाई लखेट्नु बेठिक थियो ? अतः युद्धलाई सापेक्षतामा हेर्नुपर्छ । उत्पीडन विरोधी युद्ध न्यायपूर्ण युद्ध हो । मानव जातिको कल्याण चाहने जो कसैले न्यायपूर्ण युद्धमा सकारात्मक दृष्टिकोण प्रदर्शन गर्नुपर्छ । जान्नै पर्दछ कि आक्रमण र रक्षाको सैन्य विज्ञान आप्mनो उत्पत्तिकालदेखि नै मानव जातिले आर्जन गरेको हो । माओअनुसार धनुषवाणदेखि सुरु भएको युद्ध सामग्री आज खगोलीयस्तरको क्षेप्यास्त्रमा विकसित भएको छ । सैन्य विज्ञानप्रतिको उपेक्षाले मानव जातिको उत्पीडित समुदायलाई शान्ति उपलब्ध गराउँदैन । वर्गअन्तर्विरोध रहेसम्म वर्ग दुश्मनमाथि आक्रमकता न्यायपूर्ण युद्धको पहलकदमी हो ।

इतिहास साक्षी छ, बौद्धमार्गी दलाई लामाको योजनामा नेपालको मुस्ताङमा हिंसात्मक खम्पा विद्रोह गराइयो । बौद्धमार्गी राष्ट्रपति महेन्द्रा राजापाक्षले प्रभाकरणको तामिल आन्दोलन सखाप बनाए । अतः प्राणीको हिंसा गर्दिन, भन्ने बचनलाई वर्ग सापेक्षतामा बुभ्mने प्रज्ञाको निर्माण अत्यावश्यक छ ।

अन्त्यमा, कार्य कारण सिद्धान्त नै विज्ञानको आधार हो । अध्यात्मवादको धर्ममा प्रश्न गर्नु पाप हुन्छ भने भौतिकवादको विज्ञानमा प्रश्नको श्रीङ्खला खोज अनुसन्धानको शर्त हुन्छ । धर्मभिरुहरु प्रश्नलाई किन निषेध गर्दछन् भने प्रश्न श्रीङ्खला बढ्दै जाँदा उनीहरुको अलौकिक सत्ता ढल्ने हुन्छ र मानव समाजबाट लखेटिन्छन् । त्यसैले धर्मभिरुहरु मानव जातिलाई प्रश्नहीन पशु तुल्याउँछन् ।

अब प्रश्न छ, बौद्ध दर्शन विज्ञान हो कि धर्मशास्त्र ?

व्याख्या जरुरी छैन कि हरेक धर्मको दर्शन अध्यात्मवाद हो । त्यसले अलौकिक सत्ताको रुपमा परमेश्वर खडा गर्छ, जीवन र जगतमा कतै नभएको परमेश्वरद्वारा शासित तुल्याएर जनतालाई अन्धकारमा राख्छ । तर, सिद्धार्थ गौतम बुद्ध ईश्वरको अस्तित्व अस्वीकार गर्छन् र नै उनी अनिश्वरवादका सर्वाेच्च अधिवक्ता हुन् । यसरी बौद्ध दर्शन अध्यात्मवाद विरुद्ध लड्ने भौतिकवादमा आधारित छ । भौतिकवादी बौद्ध दर्शनको विपश्यना मानिसको मन व्यवस्थापन गर्ने एक गहन विज्ञान हो । विज्ञान भएकैले बौद्ध दर्शन कार्यकारण सिद्धान्तमा निर्भर छ ।

बुद्धले भनेका छन् – संसारमा दुःख छ, दुःखको कारण छ र त्यसको निवारण छ । यो वस्तुतः भौतिकवादी अवधारणा हो, जसले अनिश्वरवादका आधारमा मानिसलाई वस्तुगत जीवनको दुःखको कारण खोज्न प्रेरित गर्दछ । आप्mनो समयमा मार्क्सले जसरी अन्तर्राष्ट्रिय मानवको माग गरेका थिए, त्यसरी नै बुद्धको प्रज्ञाले २६ सय वर्ष अघि मानवको माग गरेका थिए । जुन, २१ औं शताब्दीमा ब्रम्हाण्डीय मानवको माग बन्न गएको छ । किनकि, ब्रम्हाण्ड र मानव मन–मस्तिष्क बराबरीको ऊर्जामा शक्तिशाली छन् । अतः श्रमिकवर्ग र देशभक्तहरुका निम्ति विपश्यना अधिस्थानको शील, समाधि र प्रज्ञा विधि ब्रम्हाण्डीय मानव निर्माणमा सहज तथा अभिन्न सहायकसिद्ध छ ।

विचारणीय छ कि विश्व प्रख्यात साहित्यकार तोलोस्तोयले आप्mनो उपन्यासको नाम ‘शान्ति र युद्ध’ नराखेर ‘युद्ध र शान्ति’ नै किन राखे ? प्रष्ट छ, शान्तिका लागि नै युद्धको आवश्यकता व्यक्त गर्न त्यस्तो नाम राखेका हुन् ।

३. सर्वहारा र भिक्षु

मार्क्स भन्छन् – अज्ञानताले क्रान्तिको सेवा गर्दैन । बुद्ध भन्छन् – ज्ञानको खोजी गर अर्थात बुद्धं शरणं गच्क्षामी । मार्क्स भन्छन् – विश्वका मजदुरहरु एक हौं । बुद्ध भन्छन् –संगठित हौं अर्थात संघ शरणं गच्क्षामी । त्यस्तै, सर्वहाराको कम्युन हुने छ भने भिक्षुको संघ । द्वन्दात्मक भौतिकवादी विश्व दृष्टिकोणका आधारमा मार्क्स भन्छन् –अध्यात्मवादी दर्शनको धर्मसत्ता मिथ्या हो, पदार्थ र चेतनामध्ये पदार्थ प्राथमिक हो । अनित्य समुत्पादको निष्कर्षमा बुद्ध भन्छन् –अनिश्वरवाद नै सत्य हो, मानिस स्वयम् सार्वभौम छ ।

जीवन र जगतबारे वैज्ञानिक दृष्टिकोण निर्माण तथा सर्वहारावर्गीय आचरणमा मार्क्स आफ्नो समयका बुद्ध हुन् । त्यस्तै, दक्षिण हिमालयमा २६ सय वर्षअघि उपलब्ध सांस्कृतिक सम्पदाका आधारमा बुद्ध आफ्नो समयका मार्क्स हुन् । फरक के मात्र भने बुद्धले शिंहासनसहित गृहस्थी त्यागेर हिडे, मार्क्सले सपरिवार आजीवन संघर्ष गरे ।

अतः धनका लोभी धनाढ्यहरु विपश्यना विज्ञानबाट राहत लिन त सक्छन्, परन्तु बुद्धत्व प्राप्त गर्न सक्दैनन । किनकि, बुद्धत्व प्राप्त गर्न बुद्ध झैं राज्यशक्ति र सम्पति मुक्त मानिस अथवा स्वतन्त्र सर्वहारा बन्न सक्नुपर्छ । धनका लोभीहरुमा त्यस्तो स्वतन्त्र सर्वहारा बन्ने सामर्थ्य हुँदैन । यसरी विपश्यना विज्ञान मुख्यतः सर्वहारावर्ग र उत्पीडित जनसमूहका निम्ति प्रमाणित हुन्छ ।

अन्त्यमा

१. निकिता खु्रश्चेभको प्रतिक्रान्ति र सामाजिक साम्राज्यवाद तथा ज्याक जेरिडाको विघटनवादले प्रोत्साहित गरेको पुजीवादलाई फ्रेडरिक भन हायक तथा रिचर्ड फ्रिड मेनले नवपुजीवादी निजीकरणको उत्कर्षमा पु¥याए । परिणाम, वित्तीय पुजीको भूमण्डलीकरण भएको छ र आजको साम्राज्यवाद निगम पुजीवादी भूमण्डलीकृत साम्राज्यवाद बन्न पुगेको छ । भूमण्डलीकृत साम्राज्यवादको प्रकोपमा परेर राज्य र सरकारहरु अन्तिम छट्पटी गर्दैछन् ।

मार्क्स–एङ्गेल्सले सामाजिक न्याय सुनिश्चितता र सर्वहारावर्गको नेतृत्वमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा रुपान्तरण क्रममा योजनाबद्ध राज्य विलोपीकरणको विचार अघि सारेका हुन् । तर, निगम पुजीवादीकरणद्वारा पुजीपतिवर्गले असामयिक ढंगले राज्य र सरकारहरु विघटन गर्दैछन् । मार्क्सवादी राज्य विलोपीकरण वर्ग विलोपीकरण हो, जसले प्रकृतिको रक्षा गर्दछ । तर, निगम पुजीपतिहरुको राज्य विघटन सम्पूर्ण सम्पत्तिमाथि चरम निजीकरण हो, जसले मानवजातिको विनाश तथा प्रकृतिको ध्वंश गर्दछ । अतः निगम पुजीवादी भूमण्डलीकरण खारेज गर्दै समाजवादी भूमण्डलीकरणको कार्यभार हासिल गर्न मार्क्सवादीहरु ब्रम्हाण्डीय चेतना र भूमण्डलीय योजनातर्फ डट्नु पर्छ ।

२. पृथ्वीको भूगोल र समुद्र्माथि दुई तिहाई बढी भागमा नवपुँजीवादी अतिक्रमणले पराकाष्ठा नाघेको छ । पुँजीवादी निजीकरणको भूमण्डलीकरण र कोभिड १९ प्रकोप प्रकृति र मानवजाति विनाशका लागि जिम्मेवार छ । दार्शनिक संकटको प्रश्नमा सम्यक विकल्प मार्क्सवाद नै अखण्डनीय विज्ञान हो । अतः द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण, अतिरिक्त मूल्यको सिद्धान्त उन्मूलन गर्ने राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंगमा विपश्यना विज्ञानको समीकरणले मार्क्सवादलाई सर्वत्र विस्तार गर्दछ र मानवमुक्तिको सर्वोच्च विज्ञानलाई अझ समृद्ध पार्ने हुन्छ ।

३. प्रस्तुत खोजले सर्वप्रथम मार्क्सवादी खेमा र क्रमशः बौद्धमार्गी तथा तुलनात्मक प्रगतिशील पुजीवादी खेमाभित्र महान बहस सृष्टि गर्ने हाम्रो अपेक्षा छ, जसबाट विश्व कम्युनिस्ट आन्दोलन र प्रगतिशील आन्दोलन नयाँ संश्लेषणमा पुग्न सकोस् र ब्रम्हाण्डीय मानव निर्माण गरी आ–आफ्नो देशको विशिष्टतामा सम्भव समाजवादी विश्वव्यवस्था सुनिश्चित गरियोस् ।

प्रश्न यो पनि कि सापेक्ष शान्तिमा विपश्यना विज्ञानको सहयोग लिएर निरपेक्ष शान्तिमा पुग्ने सिद्धान्त निर्माण गर्दा मार्क्सवादीहरु प्रशन्न हुनु पर्नेमा आपत्ति गर्छन्, किन ? विपश्यना विज्ञान प्रमाणित हुँदा बौद्धमार्गीहरु प्रशन्न हुनुपर्नेमा आपत्ति गर्छन्,किन ? तथ्यको आधारमा सत्य खोज्ने संस्कृतिमा सम्यक बहश गरियोस् ।

विश्व समाजवादी भूमण्डलीकरण (आन्दोलन)लाई निर्णायक बनाउने ठोस कार्यभारका निम्ति वस्तुगत आवश्यकता यो हो कि माओको निधनयता कुण्ठाग्रस्त देखिने रुढ परम्परामाथि हजार केजीको हथौडाले हजार प्रहार गरियोस् । तब विश्व कम्युनिस्ट आन्दोलनमा महान् ऐतिहासिक क्रमभंग श्रृष्टि हुन सक्छ र त्यसर्थमा चौथो संकटक अंगको मार्क्सवाद चौथो कम्युनिस्ट अन्तर्राष्ट्रियको पथप्रदर्शक सिद्धान्त बन्न सक्छ ।

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.