कोरोनाले उच्च शिक्षामा पारेको प्रभाव

-सञ्जय याक्खा,

असार ७, २०७७ – केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानकी विद्यार्थी सुस्मिता फत्तेपुरी चौधरी स्नातकोत्तरको चौथो सेमेस्टरको परिक्षा सकेर माटोको अनुसन्धान गर्दैछिन् । जेठ महिनाभित्रमा अनुसन्धान र थेसिस सकेर स्नातकोत्तरको पढाई सकेर नेपालको सुक्ष्म विज्ञानाचार्य उपाधि लिने तरखरमा थिइन् । सरकारले लकडाउन चैत्र–११ मा घोषणा गरेसँगै उनको सपना ठप्प भएको छ । लकडाउनले क्याम्पस बन्द भएसँगै परीक्षा पनि रोकिएपछि उनी आप्mनो पीएचडीको योजना पनि पछाडि सरेको गुनासो गर्छिन् ।

फाइल फाेटाे : केन्द्रिय प्रविधि क्याम्पस ,धरान

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सुक्ष्म जीव विज्ञानको मात्र पिडा हैन । खाद्य प्रविधिमा विद्यावारिधिसम्मको अध्ययन हुने यो क्याम्पसमा खाद्य प्रविधि स्नातककोत्तरका विद्यार्थी पनि यो लकडाउनको चपेटामा परेका छन । क्याम्पसमा अध्ययनरत् चौथो सेमेस्टरका विद्यार्थीहरु अनुसन्धान गर्ने तरखरमा थिए भने दोश्रो सेमेस्टरको परीक्षाको तयारि हुँदैथियो । लकडाउन घोषणा हुनासाथ  प्रयोगशालामा गर्नुपर्ने काम पूर्ण रुपमा रोकिएपछि शैक्षिक गतिविधि पनि प्रभावित भयो । पिडित विद्यार्थी दिनेश सुवेदी भन्छन्–‘मैले सुकुटीमा अनुसन्धान गर्दै थिएँ, प्रयोशाला बन्द भएर मेरा शैक्षिक सत्र नै पछाडि पर्ने भो ।’

फाइल फाेटाे : महेन्द्र बहुमुखी क्याम्पस, धरान

कोरोनाले उब्जिएको यो समस्या दक्षिण एशियाकै उत्कृष्ट शिक्षा तथा शैक्षिक संस्थाको रुपमा दरिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि देखियो । प्रतिष्ठानमा यो पटक हुने भनिएको दिक्षान्त समारोह अन्तिम अवस्थामा लकडाउनको कारणले रोक्नु पर्यो । शिक्षा मन्त्रालयको शैक्षिक क्यालेण्डरअनुसार शैक्षिक गतिविधि गर्नु पर्ने भएकोले प्रतिष्ठानको आफ्नै बोर्ड भएता पनि परीक्षा लगायत आन्तरिक शैक्षिक गतिविधि हुन सकेको छैन । हरेक वर्ष सरदर ४ सयको संख्यामा दक्ष स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानले यो वर्षको प्रायजसो सबै परीक्षा स्थगित गर्न बाध्य भयो । शिक्षाध्यक्ष डा. गुरु खनाल भन्छन्–‘दिक्षान्त समारोह रोकिए पनि प्रतिष्ठानले निर्णय गरेर विद्यार्थीहरुलाई प्रशासनबाट प्रमाण पत्र भने दिइरहेको छ ।’

फाइल फाेटाे : वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान

कोरोनाको प्रभाव त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस र पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको पनि समस्या उस्तै देखिएको छ । व्यवस्थापन, मानविकी र शिक्षा संकायबाट हरेक वर्ष सयौंको संख्यामा दक्ष जनशक्ति उत्पादन गर्ने महेन्द्र बहुमुखी क्याम्पसले पनि परीक्षाजन्य गतिविधि रोक्नु पर्यो । प्राविधिक जनशक्ति उत्पादन गर्ने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा पनि विद्यार्थीको अन्तिम थेसिस अल्झिएर बसेको छ । लकडाउन नहुँदो हो त इन्जिनियरीङ कलेजको स्नातकोत्तर चौथो सेमेस्टरको परीक्षासहित थेसिस र रिसर्च सकिसकेको हुनेथियो । साथै, विद्यार्थीहरु कुनै जागीर वा पेशामा संलग्न भैसकेका हुने थिए । पूर्वाञ्चल क्याम्पसका शिक्षक ओम प्रकाश ढकाल भन्छन्–‘लकडानले परीक्षा रोकिएसँगै विद्यार्थीको शैक्षिक जीवन पनि रोकिएको छ ।’

फाइल फाेटाे : पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान

त्रिभुवन विश्वविद्यालयले भर्खरै प्रयोगमा ल्याएको सेमेस्टर प्रणालीअनुसार ६ महिना भित्र पाठ्यक्रम छिचोलेर परिक्षा सक्नु पर्ने हुन्छ । कोरोनाअघि स्नातकोत्तर तहको दोश्रो सेमेस्टरको परीक्षाको तयारी लगभग सकिएको थियो । तर, चैत ११ गतेदेखि लकडाउन भएसँगै परीक्षा अन्यौल बन्यो । नियमितरुपले परीक्षा सकिएको भए विद्यार्थीहरु यो बेला करिब तेस्रो सेमेस्टरको आधा शैक्षिक सत्रमा अध्ययनरत हुने थिए । दोश्रो सेमेस्टरको परीक्षाको तयारी गरिरहेका केन्द्रीय प्रविधि क्याम्पस विद्यार्थी प्रकाश बजगाँइ भन्छन्–अहिले हामी तनावै तनावमा परेका छौ । यता सङ्क्रमणको तनाव अर्को पढाइ ढिला भएको तनाव ।’ बजगाँइकाअनुसार विश्वविद्यालयको शैक्षिक नियम अनुसार पहिलो सत्रको परीक्षा नसकी आउँदो सत्रको पाठ्यक्रम छुन पनि नपाउने नियम रहेकोले उनीहरु एक शैक्षिक सत्रपछि परेको छ ।

लकडाउनको कारणले परिक्षा रोकिएका प्रभावित स्नातकोत्तर तहको विद्यार्थी विवरण:

कोरोनाको कारण शैक्षिक संस्था तथा विश्वविद्यालयसँग सम्बन्धित शैक्षिक पात्रो नै गिजोलगाजोल भएको छ । अहिलेलाई लकडाउन केही खुकुलो भएको देखिए पनि शैक्षिक संस्थाहरु खुल्न सकेको छैन । महेन्द्र बहुमुखी क्याम्पस धरानका आमसञ्चार तथा पत्रकारिता अध्यापक किशोर थुलुङका अनुसार तत्कालै शैक्षिक संस्था नखोलिए सेमेस्टर प्रणालीलाई बढी प्रभावित देखिने बताउँछन् । अध्यापक थुुलुङको विचारमा एसईईको परीक्षाजस्तो आन्तरिक मूल्याङक्नको आधारमा उतिर्ण गराउने निर्णय विश्वविद्यालय तहको शिक्षामा अनुपयुक्त हुने भएकोले पनि सेमेस्टर प्रणालीका सबै विद्यार्थीहरुको एक शैक्षिक सत्र प्रभावित हुन सक्ने सम्भावना रहेको छ । वार्षिक परीक्षा प्रणालीमा परीक्षा दिइरहेका विद्यार्थीकोलागि पनि एक वर्ष घाटा हुने देखिन्छ । विद्यार्थीको शैक्षिक समयलाई पनि अन्यौलमा पारिदिएको छ । अध्यापक थुुलुङ भन्छन्–‘विद्यार्थीहरुकोलागि यो निकै ठूलो घाटा हो ।’

(धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालित लेखनवृत्ति कार्यक्रमका लागी तयार पारीएको फिचर)

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.