‘साथीको आमा’

–प्रयाश दुमी राई
‘जानेबेला भयो, अब हिड !’ सुखदेबले मुटुलाई एक्कै गाँठो पारेर भन्छ । यतिबेला साठि बर्षे बुढो एक जोर आँखा घरको भित्ताभरी टिलपिलाईरहन्छ । राधिका भाउजु थोत्रे मैलै–मैलोको धर्को देखीने झोलामा पुराना कपडाहरु कोचिरहेकी छे । उस्का आँखा सुशीले रसिला छन् अनि मैलो कपडाबाट उठेको कडा गन्धले उस्को नाक खुम्चिएको छ । खै ! सुखदेबको आँखा,नाक कस्ता थिए म जान्दिनँ ।

कोचिएका कपडा झै चाउरी परेका गालासँगैको त्यो बुढो आँखा त्यही आँखा हो जुन आँखाले सुखदेबलाई संसारका सारा रंग चिनायो जिन्दगी के रहेछ त्यो बुझायो । कसैले बाटैमा ‘उहाँ कोहो ?’ भनेर सृुखदेबलाई सोधिदियो’भने मुटुको चाल एकबेर टक्क रोक्दै उस्ले भन्नुपर्नेछ–‘ऊनी मेरी आमा !’
त्यसदिन सुखदेबले आमालाई बृद्घाश्रममा छोड्ने दिन थियो । तसर्थ घरले न्यास्रो मानिरहेको थियो भित्ताहरु चुपचाप थिए आमाले चुमेका दराज,खाट,टेबल सबै गहभरी आसु भरेर उभिरहेका थिए ।

‘कहाँ जाने होर ?’ आमाले सुखदेबलाई त्यसरी सोधीन् जसरी सानो छदा कतै हिड्न लागेको थाहा पाएपछि ऊ आमालाई सोध्थ्यो । आमाको यो सोधाईले उस्को मुटु फेरी च्यातियो । छोरो भोकाएको, छोरो तिर्खाएको बुझिदिने आमा यतिबेला जानेरै नजानेको बाहाना गर्दै थिई, जसरी भाँडोमा भात सक्किएपछि मलाई भोक छैन भन्दै अघाएको बाहाना गर्छे आमा । कमसेकम आमाले आजको दिन त बुझेको कुरालाई बुझेजस्तै गर्दै चुप लागेकी भए हुने, सुखदेबको मनको साँघुरो कुनाबाट सायद यस्तै कुरा उब्जिदै थियो ।

आमाको यो प्रश्नले ऊ साँच्चै जमिन जस्तै फाटिएर चिरा–चिरा हुँदै टुक्रियो माटोको घैला झै । ऊ कसरी भनोस् ? –‘आमा ! आज तिम्लाई बृद्घाश्रममा छोड्न जाँदैछु ।’ सुखदेब कुन आवाजले बोलोस् ? –‘आमा ! अबदेखी तिमीलाई अर्कै मान्छेहरुले स्याहार,सुसार गर्छ ।’ भनेर ।

सुखदेबले पहिलो पल्ट रोएको सुन्ने आमाका ति कानहरुले यो वाक्य खै कसरी सुन्छे ? खै कसरी सम्हाल्छे ? सुखदेबलाई चोट लाग्दा दुख्ने उन्का ती मुटुहरुलाई ।

सुखदेबलाई एक्लो छोरो भनेर बर्षौँसम्म च्यापिहिडेकी त्यो छातिले खै ! कसरी सहन्छ उनै एक्लो छोरासँग छुटिएर बस्नुपर्ने पिडा ? तर छोरो एक्लो छैन बुहारी छ नाती नातेना छन् आमा यो सोच्दिनन् केवल छोराको चिन्ता मनमा गाँठो पार्दै राखिरहन्छिन् आफै–आफैभित्र । साँच्चै ‘आमाहरु चिन्ता गर्नै जान्दैनन् ।’ लाग्छ छोरोलाई–‘बेकामको चिन्ता लिन्छन्,यस्तै हो बुढाबुडी भएपछि ।’

सुखदेब बुझ्दैन एउटी आमाले सन्तान जन्माउन कति प्रसव पिडा झेलेकी हुन्छे ? तर आमाले त्यो पिडा भुलिसकेकीछे भएपनि फेरी आज त्यो प्रसव पिडाभन्दा हजार गुणा ज्यादा दुखाउने बिबशता जो अगाडी थुप्रिएको छ । था छैन उनै छोरोलाई दुध चुसाएर खोक्रो बनेको आमाको ज्यानले यो समयलाई कसरी थाम्दिहो ? कसरी झेल्दिहो यो सब हुनुलाई ? आमाहरु साँच्चै महान् हुन्, छोराछोरीको खुशीको निम्ति आफुलाई होमी दिन्छन् आगैको ज्वालाभित्रै पनि । थामीदिन्छन् बडेमानको दुखको पहाड । अनि आँसुको तलाउमा डुबेरै पनि ममतामयी मुस्कान छरिदिन्छन् ओठबाट सन्तानहरुको निम्ती ।

उस्ले नभनेपनि ऊ बुछ्छे उस्ले नबोल्दै पनि आमा सुन्छे तर– ‘ऊ’ आमाको सन्तान हुनुपर्छ । त्यस्तै सुखदेबकी आमालाई थाहा छ अबदेखी चर्किली बुहारीको हातबाट बचनसरीको एक गाँस जाउलो खानुपर्ने छैन । छोरो कुनबेला घर फिर्ला भन्ने चिन्ताले पिरोलीनुपर्ने छैन । तर आमाको मन त्यति सहजै बिस्वास गर्दैनन् छोरा बुहारीको चिन्ता जो बढी छ । उस्लाई लाग्छ– कसरी के गरेर घरबार चलाउँलान् ? सायद आमाका आँखा– आफ्नो सन्तान जहिल्यै सानो र असक्षम देख्ने किसिमका हुन्छन्, सायद आमाको बुढो मन– आफ्नो सन्तानलाई कलिला बुझ्ने कोटीको हुन्छ, सायद आमाको चित्त– झर्ने आँसु जत्तिकै कमलो हुन्छ ।

एउटा बिडम्बना ! संन्सार देख्ने आँखा दिएर आमाले आफ्नो सन्तानलाई जन्म दिएपनि सन्तानले आमाभित्रको ममतापनलाई कहिल्यै देख्दो रहेनछ । चिन्दो रहेनछ आमाभित्र कति बिशाल प्रेम हुन्छ भनेर । साँच्चै छोराछोरीको मन ढुङ्माथी जाँदोरहेछ । सुखदेबलाई लाग्दो हो– बुहारीको कचकच भन्दा बृद्धआश्रमा आमाले स्वर्गिए आनन्द पाउँछे ।’ आमा सुशी छे जान तयार छे । तर ऊ साँच्चै बुझ्दो रहेनछ आमाहरु कति भव्य बाहानाले रमाउँछन् भनेर । हामी बुझ्दा रहेनछौँ, आमाको हाँस्ने ओठ फरक हुन्छ रमाउने मन फरक हुन्छ । रुदापनि आमाहरु हाँसेझै देखिन्छ दुख्दापनि आमाको मन शान्त देखिन्छ । र’त आमा सागर हो ।

मलाई लाग्छ– आमाहरु तब मात्र रुन्छन्– जब सन्तानको आँखामा आँसु पलाउँछ । आमाहरु तब दुख्छन् –जब सन्तानलाई ठेस लागिदिन्छ । थोत्रा सिरानीमा निदाएर आमाहरु सफा सपना देख्छन् सन्तानकोलागी र सन्तानकोलागी खन्छन् सुनौलो बाटाहरु आफ्नै नङ खियाएर । अनि आमा– सन्तानको सुखमा आनन्दको एक सर्को सास तानिरहन्छे जीवनको दियो निभ्नेबेलासम्मपनि । र’त आमा– दियो हुन्, आफु जलेर सन्तानलाई जो उज्यालो छरिरहन्छे ।

आज त्यही उज्यालो दियोलाई सुखदेब आफुबाट टाढा धकेल्दैछ । म भट्टिमा झोक्राएर सोचिरहेछु– यतिबेला त उस्ले आमालाई आधा बाटो पु¥याईसक्यो होला ।

डाईभर बाहिर गेटछेऊभएर कुरिरहेको थियो । हिड्ने बेला आमा एकपल्ट घोप्टि परेर खोक्नुभयो, र भित्तामा झुण्डिएका परिवारको फोटोलाई एक टकले हेर्नुभयो । तस्विर चुप थिए आमाको आँखा चुप थिए, कुनातिरको भगवान्को मुर्ति चुप थियो । यो त्यही मुर्ति हो जुन मुर्ति अगाडी उभिएर हर बिहान आफ्नो सन्तानको खुशी र कालान्तर आयु मागीरहन्थीन् । फेरी आज भगवान्को मुर्तिलाई आमा मनमनै भन्छीन्–‘मेरा छोरा–बुहारी आयुश्मान् होउन् ।’

राधिका भाउजु कम्मरमा एक झुप्पा साचो बजाउँदै भित्र बाहिर गर्दै थिई । यो त्यही साचोको झुप्पा हो जुन–‘ल बुहारी आजबाट यो तिम्रो जिम्मा भयो,दिईखाने हुनु पु¥याई खाने हुनु।’ यसो भन्दै तिनै आमाले आफ्नो एकमात्र बुहारीलाई सारा घरको मालिकनी बनाईदिएकी थिईन् । खै ! आज पुगेर हो या नपुगेर तिनै बुहारी र छोरोले आमालाई सु–सम्पन्न बृद्धआश्राममा पुराउने निर्णय बुनेका छन् ।

आमाको गोडा थरर्र कापिरहेका थिए । आमाका गाला सुकेको च्याउ जस्तो क्रमश चाउरी पर्दै थियो । आँखा धमिला थिए । मैले यति महशुस गर्न सकेँ– यतिबेला आमाको छातिमा जम्मा भएका आँसु हिउँ झै एक ढिक्का भै जम्ने क्रम जारी छ ।

सबै तयार भयो । सुखदेब,राधिका,डाईभर तर था छैन आमा तयार थिई कि थिईन ? था छैन घरले पठाउन तयार थियो की थिएन ? भन्दा भन्दै जानेबेला भयो । समय सकियो घर बस्ने । तर कसैले सोधेनन्–‘आमा ! तिम्लाई जान मन छ की बस्न ?’ यसरी नसोधेरै होला खक्–खक् खोक्दै घुम्टो बेरेर एउटा बुढो लौरो टिप्दै आमापनि हिड्ने तरखरमा लागीन् ।

मुलढोका कट्ने बित्तिकै धमिलो एक जोर आँखाले घरलाई नियालेर हेरीन् मानौँ यो घर यतिबेला सुन्दर एक बगैचा हो । यो त्यही घर हो जुन घर बनाउँदा सुखदेबलाई आमाले पेटमा जतनसाथ बोकिहिडेकी थिई । आमाको पेटमा सुखदेब अट्यो तर आज सिङगो घरमा आमा अटिनन् ।

तल झर्दा प्रत्येक खुट्किलाले आमाको पाइतालामा बिझाउँदै थियो । आगनमा डाइभरले गाडी पुछ्दै थियो । मलाई थाहा छ यतिबेला डाईभर गाडीमा पानी हैन आसु छ्यापेर पुछिरहेको छ । नपुछोस् कीन ? यी डाईभरलाई आफ्नै छोरा जत्तिको माया गर्छन् । चिया खा ! भोक लाग्यो होला बिस्कुट खा ! स्याउ खा ! अब त डाइभर यहाँ आउँदा कस्सैले यसो भन्ने छैनन् । डाइभरलाई निकै न्यास्रो लागीरहेको छ तर यो न्यास्रोको के काम ? लाग्नु पर्ने मान्छेलाई जो लागेको छैन ।

डाईभरले आमैको अनुहारमा नहेरी गाडी स्टार्ट गर्छ । गाडीको इन्जिन झै डाईभरको मन थर्थराउँछ अनि तातो भएर आखामा पानी उम्लिन्छ । तर मनलाई दरो बनाएर ऊ मुलगेटहुदै बाँया गल्लितर्फ गाडी घिसार्छ, गेटफुल आँसुसँगैको आँखा बोकेर आफ्नो मालिकनीलाई बिदा गरिदिन्छ । र बगैचाका फुल निस्तब्ध,भमरा निस्तब्ध, अनि यहाँ आइपुगेका बताहरुपनि अबेरसम्म स्थिर हुँदै चुपचाप उभिरहन्छ ।

सुखदेबसँगको मेरो चिनजान घर नजिकैको बल खेल्ने एक टुक्रो जमिनमा भएको हो । मलाई याद छ त्योदिन मैले सात कक्षा पास गरेको थिएँ । त्यो समयबाट सुखदेब र मेरो दोस्ती बढ्यो । हाम्रो टोल एउटै भएर होला हामीमा निक्कै साहाचार्य बढ्यो । ऊ मेरो डेरा आउँथ्यो म उस्को घर जान्थेँ । उमेर उस्तै,कक्षा उस्तै टोल एउटै फरक दुई कुराको थियो ऊ घरमा बस्थ्यो म डेरामा, ऊ बोर्डिङ स्कुल पढ्थ्यो म सरकारी । उसँग बा आमा थिए मसँगपनि थिए भगवान्ले लगे थोरै समयमै । फरक हाम्रो भाग्यको थियो ।

ऊ पैसा कमाउन चाहान्थ्यो म नाम कमाउन । साँच्चै धेरै बर्षपछि उस्ले धेरै पैसा कमायो यति कमायो की आज पैसा राख्ने ठाउँ नपुगेर उस्ले घरबाट आमा निकाल्दैछ ।

उस्ले आमालाई बृद्धाआश्रम छाडेको दुईदिन पछिको साँझमा भट्टितिर हाम्रो भेट भयो । मैले सोधेँ–‘के चल्दैछ आजकाल ?’ रक्सिको कप चियर्स गराएर गर्वकासाथ भन्यो–‘मेरो घर बिक्यो यार ।’ मलाई मुटुमा काँडा बिझे झै भयो । घर त उस्को हो तर मेरै घर बिकाईदिए जस्तो पिडा भयो ।

‘अब चाँडै अमेरीका जादैछु । तँलाई त था छ मेरो छोरा छोरी उतै छन्, परिवारै सेटल हुने कुरा भयो के गर्नु छोराछोरीको कुरापनि सुन्नै प¥यो ।’

यसो भन्ने ऊ त्यही बुवा हो जस्ले आज आफ्नी आमालाई बृद्धाआश्रम छाडेको मात्र दुईदिन भयो । उस्को प्रगती र योजनालाई आफु साथी भएको नाताले बधाई भनेँ र रक्सिको पैसा खातामा लेख्न लगाएर लुरुलुरु म डेरातर्फ आएँ ।

सुखदेब अमेरीका पुगेको एक महिना भैसकेको थियो । अर्को महिनाको पहिलो साँझ म बृद्धाश्रममा पुगेँ । मलाई यहाँ आउन कत्रो आँट बटुल्नु प¥यो । सानो मुटुले यो ठाउँमा जो कोही जान सक्दैनन् । तर मुटुले नथाम्दै पनि म सुखदेबको आमाको पाउमा परेँ ।

मलाई देख्ने बित्तिकै मेरो हात समाएर हर्ष र पिडाले अनुहार नमज्जासँग बिगारिन् । म त रोक्न सकिनँ रोएँ । आमा साथीको हो, तर मलाई यो विचार कहिल्यै आएन मलाई उनी मेरी आमा लाग्थी ।

सुखदेबसँग म कहिलेकाही घरमा पुग्दा मलाई खाना नखुवाई फिर्नै दिनुहुन्नथ्यो । सँधै भन्थीन्–‘जति बस्न मन लाग्छ बस तँ पनि मेरै छोरा त होस्, कान्छो छोरा ।’ मलाई यो कुरा भनेकीदिन आमा कस्ता हुन्छन् मैले जानेँ । आमाको मायाँ कति मिठा र प्रिय हुन्छ मैले चाखेँ । म त्यो रात निदाउन सकिनँ । आमासँग बसेर बाँच्न पाउनु पो जिन्दगी रहेछ भन्ने बुझेँ । त्यसदिनबाट जब मलाई आमाको अभाव लाग्थ्यो तब म लुसुक्क उहाँको नजिक पुगिदिन्थेँ ।

‘बाबु तँ आइस् ?’ आमाले मलाई सुमसुम्याउँदै भनिन् । यतिबेला लाग्यो म, म नभएर सुखदेब हुँ तर सुखदेबलाई जति गर्नुहुने मलाईपनि उतिनै मायाँ गर्छिन् । म सँधै सोच्थेँ नचाहिनेहरुले आमा किन पाउँछन् ? सुखदेबको सट्टा मैले आमा किन पाइनँ ? यस्तै सोच्थेँ र रुन्थेँ बेलाबेलामा ।

सेतै फुलेको केश,झरेर बाँकी रहेका एकदुईवटा दाँत चाउरीएको अनुहार यो रंगरोगनले मलाई बेस्सरी रुवायो । आमापनि मेरो हात थामेरै भित्र भित्रै जोड–जोडले रोइन् । धम्केले निकै च्यापिसकेछ स्याँ–स्याँ गर्दै गह्रौ सास फेरीरहीन् अबेरसम्म । एकपटक आँखाको आँसु र चिप्रा पुछेर भनिन्–‘यत्रोदिनसम्म किन आइनस् ? एउटा छोरो त गयो भएको तँ पनि आमा बोलाउन देखै परिनस् त ।’

मलाई थाहा छ सुखदेब अमेरीका पुगेदेखी आमाको बारेमा मलाई कहिल्यै सोधेन । तर भनेँ–‘आमा ! सुखदेबले फोन गर्छ की गर्दैन ?’ निर्धक्क भएर भन्छिन्–‘कहिलेकाँही गरिबस्छ ! उस्लाई पनि फुर्सद हुदैन बिचरा के गरोस् ।’

फेरी झुट बोलेर, आमाहरु आफ्नो छोराछोरीप्रति कहिल्यै नराम्रो भन्दैनन् भन्ने कुराको प्रमाण देखाइन् । मनमनै भनेँ–‘आमा ! तिम्रो छोरा सुखदेबलाई अब कहिल्यै फुर्सद हुदैन । तिमी डुब्नेबेलाको घाम हुँदैछौ तिम्रो छोरालाई उदाउनुछ । तिम्ले कहिल्यै देखेकी छौ ? साँझसँग बिहानको भेट भएको ?’
धेरै कुराहरु भए र अन्त्यमा मैले भनेँ–‘आमा ! साँच्चै म आफ्नै छोरा जस्तो लाग्छु हो ?’
‘तँ मेरै छोरा होस् किन सोधिबस्छसस् सँधै ?’ बोली धर्मराउँदै भनीन् ।

‘घर हिड आमा ! हाम्रो घर छनी किन याँ बस्नुप¥यो ?’

आमाले मेरो अनुहारमा निकैबेरसम्म हेरिन् र भनीन्–‘जेठो छोरोले ल्याएर छाडेको हो,म खुशीछु तँ किन जान्ने हुन्छस् ?’ मैले धेरै थोक भनेँ । तर ‘म कतिनै बाँच्छुर ?’ यस्तै भन्दै आमा मलाई पन्छाइरही । र अन्त्यमा मैले भनेँ–‘आमा ! यदि म तिम्रै छोरा हुँ भने घर हिड नत्र तिम्रो खुशी । तर एउटा कुरा तिमी घर गइनौ भने तिम्रो जेठो छोरोले त घरबाट निकाल्यो तिम्रो कान्छो छोराले पनि मनबाट निकालिदिनेछ ।’
त्यसपछि आमा खुरुक्क मसँगै जान तयार भइन् । म हर्षले बिभोर भएँ । ममसँग त्यति खुशी थियो जति एउटी आमाले छोरा जन्माएर पहिलो नजर हेर्दा आमाको ओठमा खुशी जम्ने गर्छ ।

म मात्र एक भाग्यमानी सन्तान पर्छु जस्ले आमा जन्माउँन सकेँ । आमाहरुले मात्र सन्तान जन्माउन्नन् कुनै सन्तान यस्ता हुन्छन् जस्ले बा–आमालाई जन्माउन सक्छन् । कोही पैसा र सुखसयलको निम्ति आफ्नै बा–आमा बेच्ने पनि हुन्छन् तर कोही सन्तान् यस्तापनि हुन्छन् जस्ले हजारौँ बा–आमा कमाइरहन्छन् ।
समय बित्दै गयो । मैले आमा पाएपछि नयाँ जिन्दगी पाएँ । उहाँकै आशिवार्दमा मन परेकी एउटीलाई भित्राएँ । नयाँ सँन्सार भेटाएको अनुभुती भयो । म भन्न सक्दिनँ मेरो जिन्दगी कस्तरी रंगिन भएर आयो ? सुखदेबलाई यो सब थाहा छैन, उस्लाई के वास्ता ? ऊ त पैसा कमाउनमा व्यस्त भैगएको छ ।

जाडो याममा आमालाई दमले निक्कै साह्रो पा¥यो । हस्पिटल पु¥याएँ । आमाको बिराम झन जटिल बन्दै गयो । हस्पिटलको बेडमा हुँदा आमाले मेरो हात समाएर भनीन्–‘बाबु ! अब म बाँच्दिन जस्तो लाग्दैछ । आज म तँलाई मेरो मनको कुरा भन्छु सुन– तँलाई जन्माइनँ तर तँ जस्तो छोरा बाटैमा भेटिन्छभने अरु कसै आमाहरुले छोरा जन्माइरहनै पर्देन । सुखदेब मेरो छोरो हैन मैले त्यसलाई फोहोरको थुप्रोमा भेटाएँकी थिएँ । आजसम्म कसैलाई भनिनँ तँलाई भनेँ किन की तँ मेरो सच्चा छोरो भईस् । तर सुखदेबलाई यो कुरा कहिल्यै नसुनाउनुँ सुशी होस् लामो आयु भएर बाँचोस् सँधै आर्शिवाद छ । अनि तेरो जुनीमा त झन दुख कहिल्यै हुँदैन तँ मेरो छोरा होस् ।’ यो कुराले म हुनसम्मको बिस्फोट भएँ । सपना जस्तो लाग्यो । हो मलाई आजसम्म पनि यो कुराले बेस्सरी बिझाउँछ मुटुभित्र ।

त्यसपछिको एक बिहानले मबाट मेरी आमालाई सँधैकोलागी खोसेर टाढा लगिदियो । म त अभागी नै रै’छु आमा पाएको बल्ल एक बर्ष बित्न नपाउँदै फेरी गुमाउनु प¥यो । म त्यस्तरी लथालिङग भएँ जस्तरी एक बर्षे दुधे बालकलाई आफ्नी आमाले छाडेर नफर्कनेगरी कतै टाढा जान्छे । मर्दैछु भन्ने कुरा एक घण्टा अगाडी मात्रै थाहा पाउने भैदिएको भए साँच्चै आमाले मलाई अरु धेरै थोक भनेर जाने थिईन् । दैबिक नियमलाई छल्न सक्छर कस्ले ? सकिएन । एउटा खेल देखाएर गयो नियतिले ।

यदि मलाई पनि आमासँग मनको कुरा भन्न छुट थियो भने आज भन्थेँ–‘आमा ! मैले खुट्टा टेक्न नसिक्दै तिम्ले किन छोडिदिएकी ? मैले आफै खान जान्दिनँ, मैले आफै हिड्न सक्दिनँ । तिमी आफै भन म यो सँन्सारलाई अब फन्को कसरी मारुँ ?’

बिधा:- लघु कथा

शीर्षक:- साथिको आमा

लेखक:- प्रयास दुमी राई

प्रस्तोता:- सुस्मा राई

Facebook Comments

कन्फ्युजनेपाल

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *